


तनहुँ, २७ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा विशाल राष्ट्रिय झण्डासहितको आकर्षक पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै रहेको तल्लोटारमा ६७ फिट अग्लो झण्डा राखेर पार्क निर्माण गर्न लागिएको हो । पार्क निर्माणको तयारीसँगै झण्डाको प्रचारप्रसार गर्ने उद्धेश्यले पहिलोपटक बन्दीपुर बजारमा आज विशाल झण्डा प्रदर्शन गरिएको छ ।
पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवद्र्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने लक्ष्य राखिएको छ । पोखरा र काठमाडौंबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै पर्यटन आकर्षणको नयाँ गन्तव्य विकास गर्न लागिएको पार्क निर्माण समितिले जनाएको छ ।
पार्कमा राख्न लागिएको झण्डाको उचाइ ६७ फिट हुनेछ । झण्डाको लम्बाइ ४५ फिट र चौडाइ ३० फिट रहेको छ । विशाल आकारको झण्डासहित पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटनसँग जोडेर अघि बढाइएको हो ।
झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार निर्माणाधीन पार्कमा विशाल झण्डा राख्ने तयारी भइरहेको छ । पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ । हालसम्म रु १५ लाखभन्दा बढी बराबरको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
पार्क निर्माणको योजना र विशाल झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउने तथा यसको प्रचारप्रसार गर्ने उद्धेश्यले बन्दीपुर बजारमा झण्डा प्रदर्शन गरिएको हो । झण्डा सार्वजनिक भएपछि निर्माणाधीन पार्कबारे स्थानीय तथा बन्दीपुर घुम्न आउने पर्यटकलाई जानकारी पुग्ने अपेक्षा गरिएको छ ।
श्रमदानबाट पार्क निर्माण, सहयोग जुटाउन देउसीभैलो
पार्क निर्माणलाई तीव्रता दिन स्थानीयले श्रमदानलाई प्राथमिकता दिएका छन् । सामूहिक सहभागिताबाट पर्यटन पूर्वाधार निर्माण गर्ने उद्धेश्यले स्थानीयको सक्रियतामा काम भइरहेको छ । निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन विभिन्न अभियानसमेत सञ्चालन गर्ने तयारी गरिएको छ ।
यसैक्रममा पार्क निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने उद्धेश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ । तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना रहेको स्थानीय एवं अगुवा बासु पन्तले बताए । पहिलो दिन बन्दीपुर बजारमा रु ८९ हजार सङ्कलन भएको छ ।
उनका अनुसार स्थानीयवासीको सहभागितामा पार्क निर्माणको काम अघि बढिरहेको छ । श्रमदानसँगै आर्थिक सहयोग जुटाएर पार्कलाई पूर्णता दिने लक्ष्य राखिएको छ । स्थानीयको एकताबद्ध प्रयासबाट बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थप्ने अपेक्षा गरिएको उनले बताए ।
बन्दीपुर प्राकृतिक सुन्दरता, मौलिक संस्कृति, पुराना बस्ती र पर्यटनका लागि परिचित गन्तव्य हो । यहाँ आउने पर्यटकलाई लक्षित गरी थप पर्यटकीय पूर्वाधार निर्माण गर्ने प्रयास भइरहेका छन् । यसै क्रममा पृथ्वीराजमार्ग नजिकै विशाल झण्डासहितको पार्क निर्माण गर्न लागिएको हो ।
पृथ्वीराजमार्ग भएर दैनिक ठूलो सङ््ख्यामा यात्रु तथा पर्यटक पोखरा र काठमाडौं आवतजावत गर्छन् । राजमार्ग नजिकै आकर्षक संरचना निर्माण गर्न सके यात्रालाई केही समय रोकेर घुम्ने, अवलोकन गर्ने र तस्बिर खिच्ने पर्यटकलाई बन्दीपुरसम्म आकर्षित गर्न सकिने स्थानीयको अपेक्षा छ । विशाल झण्डासहितको पार्कले बन्दीपुरको पर्यटन पहिचानलाई थप फराकिलो बनाउने विश्वास गरिएको पन्तले बताए ।