दमौलीमा छठ पर्व मनाइयो (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा छठ पर्व मनाइयो (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८३, आईतवार

    तनहुँ, २९ कात्तिक । तनहुँको सदरमुकाम दमौलीमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइएको छ । व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज पूजाआजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइएको हो ।

    दमौलीमा विगत २५ वर्षदेखि छठ पर्व मनाउँदै आउनुभएका मुन्ना कुमारले चार दिनदेखि चोखो बसेर आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको जानकारी दिए । यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुनेछ ।

    उनका अनुसार २५ घरपरिवारले यहाँ छठ पर्व मनाएका छन् । विगतका वर्षमा उक्त सङ्ख्या धेरै हुने भएपनि अहिले बाटो सहज भएकाले कतिपय व्यक्तिहरु आफ्नै घर गएर छठ पर्व मनाएको उनले बताए ।

    छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको सुरेश साहले बताए ।

    सूर्यको आराधना गरी मनाइने छठ पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुले नुहाएर छठ पूजाको विधि सुरु गर्छन्। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन गरिन्छ ।

    नेपालमा विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पछिल्लो समय पहाडी जिल्लामा पनि लोकप्रिय बन्दै गएको छ। यस पर्वमा व्रतालुले पवित्र जलाशयमा स्नान गरी साँझ अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई दूध, जल तथा विभिन्न परिकार चढाएर पूजा गर्ने परम्परा रहेको उनले बताए ।