


तनहुँ, २ मंसिर। तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको रकम सामाजिक सेवामा खर्च गर्दै तनहुँमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
दमौलीका युवा सामाजिक अभियन्ता सुदीप गफ्फार र उनको समूहले व्यास नगरपालिका–१२, भड्खालास्थित मस्त्यकन्या आधारभूत विद्यालयका २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेका हुन्।
तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट जाडो मौसममा विद्यार्थीलाई चिसोबाट जोगाउन सहयोग पुर्याउने उद्देश्यले स्विटर वितरण गरिएको अभियन्ता गफ्फारले बताए। मनोरञ्जन र संस्कृतिसँग जोडिएको देउसी भैलोलाई सामाजिक सेवासँग जोड्दै संकलित रकम विद्यार्थीको हितमा खर्च गरिएको उनले बताए।
विद्यालयका प्रधानाध्यापक सुनिता देवकाेटाले जाडो मौसममा विद्यार्थीलाई चिसोबाट जोगाउन स्विटरले सहज हुने बताउँदै यसले विद्यार्थीको पठनपाठनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।