८ हजार १ सय १२ क्रियाशील सदस्यमध्ये ७ हजार ३ सय ५५ जनाले सदस्यता नवीकरणका लागि फारम भरे
तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा भ्रम फैलाउने काम भएको बताएको छ । आइतबार प्रेस विज्ञप्ती मार्फत् काङ्ग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने क्रम जारी रहेको तर केही सञ्चारमाध्यम मार्फत् क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा झुटो र भ्रामक समाचार प्रकाशित भएको जनाएको हो ।
पार्टी जिल्ला सचिव विश्व बास्तोलाले पार्टीको सिद्धान्त, नीति, विधि र विधानप्रति समर्पित कार्यकर्तालाई सदस्यता नवीकरण छुट भएको भए सम्बन्धित वडा कार्य समितिमा सम्पर्क गरी सदस्यता नवीकरण गर्न आग्रह गर्नुभएको हो ।
विज्ञप्तीमा तनहुँ जिल्लामा १३ औं महाधिवेशनमा कायम ८ हजार १ सय १२ क्रियाशील सदस्यमध्ये ७ हजार ३ सय ५५ जनाले सदस्यता नवीकरणका लागि फारम भरिसकेको उल्लेख गरिएको छ । पार्टी सचिव बास्तोलाका अनुसार गत साउन मसान्तसम्म गाउँ तथा नगर वडाबाट नवीकरणको सिफारिस आइपुग्ने गरी समय तालिका निर्धारण गरिएकामा कोभिड–१९ को प्रभावका कारण ८५ वडामध्ये ७८ वडाबाट ६ हजार र ८ सय ८६ क्रियाशील सदस्यमध्ये ६ हजार २ सय ५० जनाले नवीकरणका लागि फारम भरेका थिए । ती फारम गाउँ नगर क्षेत्रीय कार्य समिति हुँदै जिल्ला कार्यसमितिमा आइपुगेको जनाइएको छ ।
बाँकी सात वडामा १ हजार २ सय ६६ क्रियाशील सदस्य रहेकामा १ हजार १ सय ५ जना क्रियाशील सदस्यले पनि नवीकरणका लागि फारम भरी वडा कार्यसमितिमा बुझाइसकेको काङ्ग्रेसले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, “यस बीचमा मृत्यु भएका, हाल विदेशमा रहेका, पार्टी अनुशासन उल्लङ्घन गरि पार्टी परित्याग गरी अन्य पार्टीमा गएका र केन्द्रीय अनुशासन समितिको निर्णय बमोजिम कारवाहीमा परेका बाहेकका सबैजसो क्रियाशीलल सदस्यहरुले सदस्यता नविकरणका लागि फारम भरिसकेको र बाँकीले भर्ने क्रम जारी छ ।”