सबै तह र प्रकृतिका परीक्षा सञ्‍चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सबै तह र प्रकृतिका परीक्षा सञ्‍चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    काठमाडौँ : मन्त्रिपरिषद्ले सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको छ । कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयाे ।

    मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको मन्त्री ज्ञवालीले बताउनुभयाे । ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चा‍लन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ,’ उहाँले भन्नुभयाे ।

    कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न भनिएको मन्त्री ज्ञवालीले बताउनुभयाे । त्यस्तै, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न व्यवसायका लागि तालिम प्रदान गर्न स्वीकृति दिइएको छ । त्यस्ता तालिममा २५ जनाभन्दा बढीको सहभागिता भने नगर्न भनिएको छ । त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले भनेको छ ।

    सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ । उक्त सिफारिस समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।