तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का जनप्रतिनिधिले सुविधा बापत प्राप्त गर्ने रकमले माटो परीक्षण गर्ने उपकरण खरिद गरेका छन् । उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले आफूले पाउनु तलब सुविधाबाट माटो परीक्षण उपकरण खरिद गर्नुभएको हो ।
वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्यले रु २५ हजारको लागतमा माटो परीक्षण उपकरण खरिद गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
वडाभित्र नै दक्ष जनशक्ति तयार गरी बाह्रै महिना माटो परीक्षण एवं माटो सम्बन्धी परामर्श सेवा दिन दुई जना कृषकलाई दक्ष बनाइने उहाँले जानकारी दिनुभयो । “दुई जना कृषकलाई माटो परीक्षण तालिममा पठाउँछौ, तालिम लिएर आएपछि उहाँहरुले वडाबाट बाह्रै महिना माटो परीक्षण र परामर्श सेवा दिनुहुनेछ,” रेग्मीले भन्नुभयो ।
वडा कार्यालयले भरतपुरस्थित मातृभूमि कृषि सामग्री उद्योगको सहयोगमा माटो व्यवस्थापन तालिम एवं माटो परीक्षण सम्पन्न गरेको छ । वडाभित्रका विभिन्न ३० स्थानको माटो परीक्षण गर्दा माटोको गुणस्तर योग्य देखिएको छ । “पहिलो चरणमा आलु खेती हुने ठाउँहरुको माटो परीक्षण ग¥यौ, उक्त माटो आलुखेतीका लागि योग्य देखिएको छ,” उहाँले भन्नुभयो, “क्रमशः अन्य ठाउँका पनि माटो परीक्षण गर्छौ ।”
वडाभित्र १० हेक्टर जमिन रहेकामा चार हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ । अहिले धानको सिजन भएकाले बाँकी ठाउँका माटोको परीक्षण गर्न नसकिएको रेग्मीले जानकारी दिनुभयो । “माटो परीक्षणले कुन ठाउँको माटो कस्तो छ र त्यहाँ कस्तो खेती गर्ने भन्ने बारेमा पत्ता लगाउन सहज हुनेछ,” उहाँले भन्नुभयो, “माटो परीक्षणकै आधारमा कहाँ कहाँ कुन खेती गर्ने भन्ने बारेमा कृषकलाई सुझाव दिनेछौ ।”