तनहुँ : ‘बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।
उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोराले पनि उहाँलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे । दुःख सुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उहाँ दमौली बजार आसपास सालको पात बेच्न हिँड्नुहुन्छ । “बँचेको एउटा मात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ,” उहाँले भन्नुभयो, “गुजारा गर्न सालको पात बेच्छु ।”
व्यास नगरपालिका–४ स्थित कालिका जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर विक्री गर्ने उहाँको दैनिकी हो । दिनमा तीन चार वटा मूठासम्म पात विक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मूठोको रु ५० सम्म विक्री हुन्छ,” उहाँले भन्नुभयो ।
फेसबुकमा देखेपछि सहयोग
दवाडीका बारेमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्तीले सामाजिक सञ्जालमा फेसबुकमा तस्वीर पोष्ट गर्नुभएपछि उहाँलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउण्डेशन मार्फत् दवाडीलाई शुक्रबार दुई बोरा चामल, दाल, नून, तेल, चियापत्ती लगायत पकाउने भाडाकुडा सहयोग गरिएको छ ।
उक्त सामग्री फाउण्डेशनका उपाध्यक्ष सन्दिप बस्नेतले शुक्रबार दवाडीलाई हस्तान्तरण गर्नुभयो । सामाजिक अभियान्ता, नर्स एवं कलाकार आशिका तामाङ अध्यक्ष रहेको फाउण्डेशनले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्नेलाई सहयोग गर्दै आइरहेको छ । दशैंको पूर्वसन्ध्यामा खाद्यान्न लगायतका सामग्री पाएपछि दवाडी खुशी हुनुभएको छ ।