कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको हो ।

    व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । सोही उद्योगमा दमौली बजारबाट सङ्कलन हुने कुहिने फोहरलाई पनि मल बनाइने न्यौपानेले बताउनुभयो ।

    “भतेरी मादीले कटान गरिएपछि फोहरमैला फाल्ने ठाउँ खोज्न नगरपालिकालाई सकस भयो, बल्ल बल्ल ठाउँ पायौ,” न्यौपानेले भन्नुभयो, “कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाइनेछ ।” नगरपालिकाले केही वर्षदेखि नै कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर बजारबाट फोहरमैला सङ्कलन गर्दै आएको छ ।

    नगरपालिकालाई फोहरमैला व्यवस्थापनका लागि व्यास नगरपालिका–१ का स्थानीयवासी रामदेव पन्थले पाँच वर्षका लागि निःशुल्क जग्गा सहयोग गर्नुभएको छ । “नकुहिने फोहरलाई यही जग्गामा व्यवस्थापन गर्छौ, कुहिने फोहरबाट मल बनाउँछौ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

    व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार स्थानीयवासीले विसं २०८२ सालसम्मका लागि फोहर बिसर्जनका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । “अब कम्तिमा पनि पाँच वर्षका लागि फोहरमैला बिसर्जनका लागि समस्या हुँदैन,” उहाँले भन्नुभयो, “तर अन्य स्थानमा पनि ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिरहेका छौ ।”

    नगरपालिकाले वडा नं ४ र १० को चार वटा सामुदायिक वनमा पनि फोहरमैला केन्द्र निर्माणका लागि प्रकृया अगाडी बढाएको छ । चार वटा सामुदायिक वनले फोहरमैला केन्द्र निर्माणका लागि सहमति जनाएकाले उक्त ठाउँमा वातावरणीय प्रारम्भिक अध्ययन गर्न लागिएको छ ।

    नगरपालिकामा स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउन माग हुँदै आएपनि उपयुक्त ठाउँ नपाउँदा नगरपालिकाले ल्याण्डफिल्ड साइड निर्माण गर्न सकिरहेको छैन । व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिएपनि स्थानीयवासीको विरोधपछि उक्त कार्य स्थगित भएको थियो ।

    नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–२, ३ र ४ बाट कुहिने र नकुहिने फोहर वर्गीकरण गरी सङ्कलन गर्दै आइरहेको छ ।