पाेखरा : गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुई जना कास्की र एक जना स्याङ्जाका हुन् ।
कास्की पोखरा १७ का ७८ वर्षीया कोरोना संक्रमित महिलाको २ मंसिरमा मनिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनीमा कात्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा ३ का ८३ वर्षीय पुरुषको २ मंसिरमै गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै पुतलीबजार १३ का ४६ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ ।