दुलेगौँडा : स्याङ्जाको हरिनास गाउँपालिकामा मग्यास चिसापानी स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पताल बनाईने भएको छ । स्थानीय तहका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सङ्घीय सरकारको नीति अनुसार स्वास्थ्य चौकीलाई स्तरोन्नती शुरु भएको हो ।
मग्याम चिसापानीमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्नलाई बनाईने नयाँ संरचनाको सोमबार सङ्घीय सांसद नारायणप्रसाद मरासिनीले शिलन्यास गर्नुभयो । उहॉले सरकारको ऐतिहासिक कदमका कारण सबै स्थानीय तहमा अस्पताल बन्न लागेको बताउनुभयो । सामान्य रोगको पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने जनताको अवस्था अब विस्तारै अन्त्य हुने उहॉको विश्वास छ । हरिनासको समग्र विकासका निम्ति आफूले सक्दो पहल गरिरहेको उहॉले जनाउनुभयो ।
हरिनासबासी नजिकै अस्पताल नहुँदा सामान्य बिरामी हुँदा समेत उपचारका लागि तनहुँको साँखे, दुलेगौँडा र कास्कीको पोखरा धाउनुपर्ने बाध्यता छ । गाउँपालिकास्तरीय अस्पताल १७ रोपनी क्षेत्रफलमा फैलनेछ । यसअगाडी स्वास्थ्यचौकीसँग ८ रोपनी जग्गा थियो । बाँकी ९ रोपनी जग्गा खरिदका लागि यहाँका स्थानीय आमा समूह, युवा क्लब, सामुदायिक वन, हरिनास सहयोग समाज कतार इकाई लगायतका संघसंस्थाले सघाएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताउनुभयो । उहॉका अनुसार नयाँ बन्ने भवन दुई बर्षमा सक्ने गाउँपालिकाको लक्ष्य छ ।
अस्पतालका लागि सङ्घीय सरकारले करिब १८ करोड रुपैयाँ लगानी गर्नेछ । चालु आर्थिक वर्षमा पहिलो किस्ताबापत गाउँपालिकालाई तीन करोड २३ लाख ३० हजार रुपैयाँ आईसकेको छ । ‘दोस्रो किस्ताका लागि बजेट गरिसकिएको छ’, उपाध्यक्ष पराजुलीले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य दिपक चर्ती मगर, मिनप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।