मानुङकोटको पूर्वाधार विकासका लागि प्रदेश सरकारद्वारा २० लाख बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकोटको पूर्वाधार विकासका लागि प्रदेश सरकारद्वारा २० लाख बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकोटको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटमा पूर्वाधार निर्माणका लागि तत्कालका लागि रु २० लाख बजेट विनियोजन गर्नुभएको हो ।

    केही समय अगाडी मानुङकोटको भ्रमण गर्दै मन्त्री गुरुङले मानुङकोटलाई प्रदेश सरकारको उत्कृष्ट गन्तव्यको रुपमा सूचीकृत गर्दै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

    मन्त्री गुरुङले मानुङकोटको विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । मानुङकोटको गुरुयोजना बनेपछि आगामी आर्थिक वर्षको बजेट भाषणबाटै मानुङको लागि थप बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    “अहिले विनियोजन भएको बजेट के गर्न सकिन्छ, त्यसतर्फ नगरपालिका र वडाले ध्यान दिनुपर्छ, आगामी वर्ष पनि बजेट विनियोजन गर्न सकारात्मक छु,” मन्त्री गुरुङले भन्नुभयो ।

    व्यास नगरपालिकाले पनि केही समय अगाडी कार्यपालिका बैठकबाट मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गर्दै सहयोगको अनुरोध गरेको थियो । व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङको विकासका लागि प्रदेश सरकारबाट चासो व्यक्त भएकामा खुशी व्यक्त गर्नुभयो ।

    केही समय अगाडी हजारौ पर्यटक मानुङकोट पुग्ने गरेकामा उक्त सङ्ख्या घटेपनि मानुङकोटमा अझै पर्यटकको आवतजावत भइरहेको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

    मानुङकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ ।