दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख किसान गुरुङले उक्त भवनको सोमबार उद्घाटन गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख गुरुङले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्य सहित वडा वडामा स्वास्थ्य केन्द्र भवन निर्माण गर्ने अभियान चलेको बताउनुभयो । आधारभूत स्वास्थ्य केन्द्रबाट प्राथमिक स्वास्थ्य सेवा पाइने हुँदा निजीमा शुल्क तिरेर नजान नगरवासीलाई आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीको बोली व्यवहारले सेवा प्रवाहमा प्रभाव पर्ने हुँदा त्यसतर्फ ध्यान दिन नगरप्रमुख गुरुङले आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले सेवाग्राहीको चापको आधारमा स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भन्दै अधिकतम सेवा लिन आग्रह गर्नुभयो । वडाध्यक्ष एवं वडा स्वास्थ्य संयोजक दीर्घबहादुर थापाले स्वास्थ्य केन्द्रबाट दिइने सुविधाका बारेमा गाउँ गाउँमा प्रचार गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार नगरपालिकाका सात वटामा नयाँ आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । रु ५६ लाख ५७ हजार तीन सय २२ को लागतमा स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको हो ।