तनहुँ : पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया अघि बढेको छ। मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आबुखैरेनी–जामुने खण्डको निर्माण चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाउने भएको छ। चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा मुग्लिन–पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाउने भएको हो। सडक विभाग र चिनियाँ कम्पनीबीच सडक निर्माणका लागि सम्झौता हुने क्रममा रहेको मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
‘पर्फमेन्स ग्यारेन्टी गर्ने म्याद माघ १४ गतेसम्म छ’, सुवेदीले भने, ‘पर्फमेन्स ग्यारेन्टीबापतको रकम बैंकमा जम्मा गरिसकेपछि ठेक्का सम्झौता मिति तय गरिनेछ।’ सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउन खोजेको हो। मुग्लिन–पोखराको दूरी करिब ९३ किमि छ। जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८६.६ किमि छ। निर्देशनालयले आँबुखैरेनी–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ। आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) रहेको छ। जामुने–पोखरा खण्ड विस्तारका लागि निर्माण व्यवसायीको आवेदन मूल्यांकनको क्रममा छ। यो खण्डको मूल्यांकन अन्तिम चरणमा पुगेको छ।
मुग्लिन–आँबुखैरनी खण्ड करिब ७ किमिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ। निर्देशनालयले एडीबीको सहुलियत ऋणमा मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्दै छ।
डेढ लेनको ९३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिनेछ। निर्देशनालयले उक्त सडकलाई दुई चरणमा विस्तार गर्दै छ। पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ। मुग्लिन–आँबुखैरेनी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने क्रममा छ। यस खण्डमा ६७ मेगावट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह छ। सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो। जलविद्युत् गृहलाई सुरक्षित राख्न निर्देशनालयले मस्र्याङ्दी नदीको अर्को किनारबाट सडक विस्तार गर्ने गरी डीपीआर तयार पारिरहेको छ। रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्ले २०७५ चैतमा स्वीकृति प्रदान गरेको थियो। डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले प्राप्त गरेको छ।
आँबुखैरेनी–मुग्लिन खण्डको डीपीआर पनि एमएमएम ग्रुपले पूरा गरेको हो। पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिने डीपीआरमा उल्लेख छ। घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर लामो हुन्छ। मुख्य सडकलाई एकअर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ। आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ। सडकको दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ। पैदल यात्रुका लागि एक/एक मिटरको फुटपाथ हुन्छ।
सर्भिस लेन र मुख्य सडक छुट्ट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ। खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ। यी स्थानमा सर्भिसलेन र ढल निर्माण गर्नु नपर्ने भएकाले सडकको चौडा सानो हुनेगरी डिजाइन गरिएको निर्देशनालयले जनाएको छ।
(स्रोत : अन्नपूर्ण पोष्ट)