तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा–५ कुँदीमा सभाहल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा आधुनिक सभाहल निर्माण गरिएको हो ।
उक्त सभाहलको बिहीबार उद्घाटनको तयारी गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त सभाहलको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।
पाँच रोपनी क्षेत्रफलको जग्गामा निर्माण गरिएको उक्त सभाहल तीन सय क्षमताको रहेको छ । उक्त सभाहलमा दुई वटा साना कोठाहरु रहेका छन् । लागत इस्टमेट रु एक करोड भएपनि टेन्डर प्रक्रिया मार्फत् रु ९५ लाख ५४ हजार तीन सय ३३ को लागतमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै रु चार लाख ८५ हजार चार सय ४१ को लागतमा सभाहलमा जिप्सम लगाउने काम सम्पन्न भएको छ । सभाहल नहुँदा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु हाटबजारको हलमा आयोजना गर्दै आएको थियो । “गाउँपालिकामा सुविधासम्पन्न सभाहल नहुँदा कार्यक्रमहरु गर्नुपर्दा समस्या पर्ने गर्दथ्यो, नयाँ सभाहल बनेपछि सहज हुने भयो,” गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले भन्नुभयो ।