त्यसपछि बर्सियो आँशु बरर…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    त्यसपछि बर्सियो आँशु बरर…

    विनाेद ढुङ्गाना

    ५ असाेज, २०८१


    तनहुँ : २६ वर्षको उमेरमा पदममाया थापाले पति वियोगको पीडा सहनुप¥यो । काखमा पाँच वर्षकी छोरी, कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकतिर थियो नै, समाजको हेपाई पनि सहनुप¥यो । बडो सङ्घर्षले छोरा छोरी हुर्काउनुभयो, बढाउनुभयो र पढाउनुभयो । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।

    श्रीमान्को मृत्युपछि उहाँको सिन्दुर पुछियो, पहिरन फेरियो । श्रीमान्को मृत्युको २३ वर्षपछि बल्ल पदममायाले सोमबार निधारमा रातो टिका लगाउनुभयो । रातो पछ्यौरी उहाँको शिरमा देखियो । म्याग्दे गाउँपालिका–३ साउनेपानीकी उहाँले एक सय एघारौ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टिका–रातो पछ्यौरा सम्मानमा सहभागी भएर टिका र पछ्यौरी पहिरिनुभएको हो ।

    गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टिका र पछ्यौरी ओडाएर अङ्गालोमा बेर्नुभयो । त्यसपछि पदममायाको आँखाबाट आँशु बर्बरी खसे । उहाँसँगै अध्यक्ष राना पनि भावुक बन्नुभयो ।

    एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टिका लगाएको उहाँले बताउनुभयो । “मुखले नारी पुरुष बराबरी भनेपनि पुरुष प्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ,” सुक्क सुक्क रुँदै उहाँले भन्नुभयो, “त्यसैले पनि आज रातो टिका ग्रहण गरे । किनभने रातो टिका नलगाएर हामी बिधुवाको रुपमा हिँड्दाखेरी हाम्रो घाउ २५ औँ वर्षसम्म पनि आलो नै रहेको छ ।” एकल महिलालाई समाजले थिच्ने गरेको उहाँले सुनाउनुभयो ।

    विवाह गरेको चार वर्षमा धयेरेकी अन्जु आलेले श्रीमान् गुमाउनुभयो । भर्खर कलकलाउँदो उमेरमा श्रीमान्को मृत्युपछि उहाँको पहिरन फिक्का बन्यो । रातो लगाउन मन भएपनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अन्जुले २८ महिनामा सोमबार रातो पहिरिनुभयो । “चाहेर एकल भएको होइन भाग्यले ठगेको हो । तर, सदा साधा भएर हिँड्न भएन । रङ्गिन भएर हिँड्ने हामीलाई पनि मन हुन्छ,” उहाँले भन्नुभयो ।

    धुम्म परेको मौसम । आकाशमा बादल मडारिँदा छिटफुट वर्षा भईरहेको थियो । म्याग्दे गाउँपालिका–४ थर्पु बजार पृथ्वीराजमार्गको दायाँपट्टी ठेलमठेल (सयौँ ) महिला थिए । तीमध्ये धेरैको सिउँदोमा सिन्दुर थिएन । फिक्का लाग्ने पहिरनमा सजिएका, अधवैशेदेखि सेतै कपाल फुलेका आमाहरुको भिड । ती सबैको मनमा अब समाज फेरिनुपर्छ भन्ने थियो होला । श्रीमान्को मृत्युपछि पनि महिला रातो लगाउन पाउनुपर्छ भन्ने भाव अनुहारमा प्रस्ट देखिन्थ्यो । एक्लै समाजको जन्जिर तोड्न नसकेपनि एक–एक मिलेर सकिन्छ भन्ने यहाँको भिडलाई हेरेर अनुमान गर्न सकिन्थ्यो ।

    माईकबाट उद्घोषकले नाम लिन्थे । एकल महिला स्टेजमा पुगेर गाउँपालिका अध्यक्ष रानाको हातको रातो टिका र पछ्यौराको सम्मान थाप्थे । केहीले र्बबरी आँशु खसाल्थे । आफूलाई सम्हाल्न नसकेर अध्यक्ष रानाले पनि सम्मान गर्दै ग्वाम्म अङ्गालो हाल्नुहुन्थ्यो । घरीघरी पछ्यौरीको बर्कोले आँशु पुछ्नुहुन्थ्यो । यो क्रम केही घण्टा चलिरह्यो । एक सय २७ जनाले गाउँपालिकाको रातो टिका–रातो पछ्यौरा सम्मान ग्रहण गरे ।

    कार्यक्रमको शुरुमै गाउँपालिका अध्यक्ष रानाले पनि रातो टिका र पछ्यौरा ग्रहण गर्नुभयो । उहाँको साईली जेठानी सुकमाया राना र काईली जेठानी विष्णुमाया रानाले रातो टिका लगाएर पछ्यौरी ओडाइदिनुभयो । अध्यक्ष रानाले चार वर्ष अगाडी मात्रै श्रीमान् गुमाउनुभएको थियो ।
    हिन्दु परम्परा अनुसार श्रीमान् गुमाएपछि रातो टिका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । समाजलाई चिर्न कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष रानाले बताउनुभयो । उहाँले आफूले गरेको कार्यक्रमको तारिफसँगै आलोचना हुने उल्लेख गर्नुभयो । “८० प्रतिशले वाहीवाही गरेपनि, २० प्रतिशतले उल्का भई भन्लान् । तर, ती नकारात्मक कुरालाई नै उर्जामा रुपान्तरण गर्छु । त्यसको कुनै परवाहा छैन,” उहाँले भन्नुभयो । एकल महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्ने योजना पनि उहाँले सुनाउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले एकल महिला भएपछि राताे लगाउन हुँदैन भन्ने सामाजिक भ्रम हटाउन कार्यक्रम गरिएकाे जानकारी दिनुभयाे ।