तनहुँ : दमौली खानेपानी तथा सरसफाई समितिको शुक्रबार र शनिबार हुने चौथो अधिवेशन एवं दशौ साधारणसभाका लागि तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वृषराज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पैसा कमाउने उद्देश्यका लागि नभई दमौलीवासीको सेवाका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताउनुभयो । “मलाई पैसा कमाउनुछैन, दमौलीवासीलाई स्वच्छ र गुणस्तरीय पानी उपभोग गराउनु छ,” श्रेष्ठले भन्नुभयो ।
ट्रिटमेन्ट प्लाण्टलाई सुधार गरी स्वच्छ, सफा, किटनाशक, प्रशोधित पानी वितरण गर्न, नेपाल सरकारको प्रति व्यक्ति एक सय लिटर पानी प्रतिदिन आवश्यकता पर्नेमा एक सय २० लिटर पानी प्रतिदिन आपूर्ति गर्न, पानीको वितरण प्रणाली मिलाई उपभोक्ताको घरघरमा सहज रुपमा पानी वितरण गर्ने उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो । उपभोक्ताबाट पानीको महशुल अनलाइनबाट बुझाउन सक्ने निरन्तरता र महशुल कम गर्न, आधुनिक डिजिटल प्रणालीलाई अवलम्बन गरी घरघरमा पानी आए नआएको कार्यालयबाट थाहा पाई तुरुन्त मर्मत कार्यका लागि कर्मचारी खटाउने उद्देश्य रहेको पत्रकार सम्मेलनमा श्रेष्ठले जानकारी दिनुभयो ।
आकाङ्क्षीबीच सहमति जुटेन
समितिको अध्यक्षमा नेपाली काङ्ग्रेसबाटै अन्य उम्मेदवार रहेपनि सहमति जुट्न सकेन । छलफलबाट लागि प्रयास गरिएपनि सहमति नजुटेपछि आफू मैदानमा उत्रिएको श्रेष्ठले बताउनुभयो । “पार्टीले आधिकारिक उम्मेदवार टुङ्गो लगाउन सकेन, म पार्टीको आधिकारिक उम्मेदवार नभएपनि मैदानबाट पछि हट्दिन,” उहाँले भन्नुभयो ।
सामाजिक सेवामा खरिएर आएको हुनाले मतदाताले आफूलाई विश्वास गर्ने श्रेष्ठको विश्वास छ ।