तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा हेफरको सहयोगमा साढे चार करोडको योजना सञ्चालन हुने भएको छ। योजना सञ्चालनका लागि हेफर र गाउँपालिकाबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालनका लागि गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र हेफरका उपाध्यक्ष डा. तीर्थराज रेग्मीबीच सम्झौता भएको छ ।
परियोजना अन्तरगत गाउँपालिकामा रु चार करोड ६६ लाख ६६ हजार ६ सय ६७ को कार्यक्रम सञ्चालन गरिनेछ। त्यसका लागि गाउँपालिकाले ७५ प्रतिशत र हेफरले २५ प्रतिशत साझेदारी गर्नेछ। उक्त परियोजना २८ महिनासम्म सञ्चालन हुनेछ।
गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले गाउँपालिकाले कृषि तथा पशु क्षेत्रलाई अगाडी बढाउँदै दिगो समृद्ध देवघाट बनाउने लक्ष्य रहेको बताउनुभयो।