हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    तनहुँ : शनिबार साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । ४ बजेतिर आएको हावाहुरी सहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।

    हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिनुभयो । उहाँका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ ।

    हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ । घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताउनुभयो । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लवको भवन र भुवन राना मगरको टनेल हाउस पनि क्षति पुगेको छ । “वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ,” उहाँले भन्नुभयो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।