तनहुँ : तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेका मिर्गौला पीडित २८ वर्षीय अनुप क्षेत्रीको उपचारका लागि विदेशबाट रु दश हजार सहयोग गरिएको छ । व्यास नगरपालिका-५ घर भई हाल दुबईमा रहनुभएका सन्तोष राना र नविन पुलामीबाट अनुपको उपचारका लागि रु दश हजार सहयोग गरिएको हो ।
उक्त रकम व्यास साङ्गितिक समूहका अध्यक्ष मोहनराज आलेले शनिबार अनुपलाई हस्तान्तरण गर्नुभयो।
घरको जेठो छोराको मिर्गौलामा समस्या आएपछि घर परिवार एवं अनुपका बुवा चिन्तित हुनुहुन्छ । हप्तामा रु दश हजार खर्च गर्दै अनुपले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलासिस गर्दै आउनुभएको छ । घरको आर्थिक अवस्था कमजोर रहेकाले अनुपका बुबा पदम बहादुर क्षेत्रीले सहयोगको अपिल गर्नुभएको छ ।
“हाल हप्तामा दुई पटक डायलासिस गर्नु परेको छ, डाक्टरले चॉडै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेका छन्,” उहॉले भन्नुभयो, “रकम अभावमा उपचारमा ढिलाई भएको छ ।”
मिर्गौला प्रत्यारोपणका लागि रु दश लाखदेखि १५ लाखसम्म आवश्यक पर्ने चिकित्सकले बताएका छन् ।