तनहुँ : विवेकशील साझा पार्टी तनहुँले भानु नगरपालिका-१ का वृद्धले उपचार नपाएर मृत्युवरण गर्नपरेको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरेको छ । उक्त पार्टीका जिल्ला संयोजक सागर घिमिरेले बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गरेर घटनाको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो ।
विज्ञप्तीमा यो परिस्थितिसँग जुध्न विवेकशील साझा पार्टी तनहुँ जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ।
कोरोना सङ्क्रमित व्यक्ति श्वास फेर्न अप्ठ्यारो भई अस्पताल जाँदा अस्पतालमा भेन्टिलेटर सहितको बेड हुँदा हुँदै दुई/तीन घण्टासम्म उपचार नपाएर छटपटिएर मर्नु अस्पतालको लापरवाही भएको विज्ञप्तीमा जनाइएको छ। “बिरामीले खवर नगरी आएकाले भर्ना गर्न नसकिएको भन्ने जस्तो गैरजिम्मेवारपूर्ण जवाफ अस्पतालबाट आइरहेको छ । हामी प्रश्न गर्न चाहन्छौ यो अवस्थामा अस्पताल आफे तयार भएर बस्नुपर्ने की बिरामीले म आउँदैछु भन्नुपर्ने ?” विज्ञप्तीमा भनिएको छ।