देवघाटलाई आयुर्वेदिक औषधि हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटलाई आयुर्वेदिक औषधि हस्तान्तरण

    करिश्मा गुरुङ

    १८ जेष्ठ २०७८, बुधबार

    देवघाट : तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आयुर्वेदिक औषधि हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितलाई वितरण गर्नका लागि केन्द्रले गाउँपालिकालाई आयुर्वेदिक औषधि हस्तान्तरण गरेको हो ।

    गत वर्ष कोरोना कहर शुरु भएदेखि नै केन्द्रले होम आइसोलेशन तथा आइसोलेशन कक्षमा आयुर्वेदिक औषधि वितरण गर्नुका साथै योग अभ्यास समेत सिकाउँदै आएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सम्पूर्ण पालिकामा होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई केन्द्रले सम्बन्धित पालिकामार्फत् औषधीहरु वितरण गर्दै आएको छ ।

    त्रिकटु चूर्ण, गुडुची चूर्ण, यष्टिमधु चुर्ण, अखरगन्ध चूर्ण, महासुदर्शन चुर्ण, लक्ष्मी विलास रस (नारदीय) लगायतका आयुर्वेदिक औषधि बुधबार देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

    कोरोना सङ्क्रमित व्यक्तिमा अनेक प्रकारका कुराहरू खेल्ने हुने हुँदा बिरामीमा कुनै पनि किसिमको मानसिक तनाव नहोस भन्ने हेतुले औषधि वितरण गर्दै आइरहेको मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएको १४ दिनपछि भने यो औषधि प्रयोग गर्न पर्दैन ।

    सङ्क्रमित भइसकेपछि व्यक्तिको शक्ति घट्ने, जाँगर नलाग्ने जस्ता समस्या हुने भएकाले त्यसलाई नियन्त्रणका लागि आयुर्वेदिक औषधिले सहयोग गर्ने मण्डलको भनाई छ । उहाँले अनावश्यक रूपमा कोरोनाको औषधि भन्दै जथाभावी रुपमा औषधि प्रयोग नगर्न आग्रह गर्नुभयो ।

    देवघाट गाउँपालिकाका अध्यक्ष थापाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि औषधि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।