तनहुँ : विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका-१ आँधीमूल मन्दिरको परिसरमा वेल, कपुर, अमला, तेजपत्ता, स्वामी धुपी लगायतका विभिन्न प्रजातीका विरुवा वृक्षारोपण गरेको छ ।
धार्मिक रुपले पवित्र मानिने स्वामी र वेलको विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले उक्त धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ऑधीमूल क्षेत्रको संरक्षण र सम्वर्दनका लागि गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने बताउनुभयो । साथै उहॉले वातावरणीय प्रभाव मूल्याङ्कन गरि विस्तृत गुरुयोजना तयार गरिने र विरुवालाई हुर्काउन तथा तार जालीका लागि रु १ लाख दिने घोषणा गर्नुभयो।
२२ वटा धारा सहित २ पोखरी माछा र २ मन्दिर रहेको उक्त मन्दिर परिसर निकै रमणीय रहेकाले गाउँपालिकाको धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको र आगामी दिनहरुमा समेत उक्त मन्दिरलाई अझ व्यवस्थित गर्दै लैजाने कुरा अध्यक्ष थापाले बताउनुभयो ।
२०३५ सालमा पाकुली परियारले मन्दिरको संरक्षणका लागि सानो मन्दिरको थपनाको रुपमा स्थापना गरेको र हाल सबै समुदायले संरक्षण गरि विकास गरिरहेको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी गराउनुभयो ।
उक्त वृक्षरोपण कार्यक्रममा ३६ वटा विरुवा वृक्षरोपण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी गराउनुभयो ।