भानु : तनहुँको भानु नगरपालिकाले टोल-टोलमा सिकाई सहजीकरण केन्द्र स्थापना गरेर विद्यार्थीको सिकाईमा सहजीकरण गर्ने भएको छ । कोरोना कहरका कारण विद्यालय सञ्चालन हुन नसकेपछि नगरपालिकाले गाउँ टोलमा केन्द्र स्थापना गरी विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा सहजीकरण गर्ने तयारी गरेको हो ।
यसका लागि आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरिएको छ । भानु नगरपालिकास्थित विद्यालयका प्रधानाध्यापकको भर्चुअल माध्यमबाट सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिनुभयो । टोलमा स्थापना हुने केन्द्रमा शिक्षक तथा कर्मचारी खटाइनेछ ।
कोभिड-१९ का कारण लामो समयसम्म विद्यालय बन्द रहँदा शैक्षिक क्षति विद्यालयस्तरीय वर्षे तथा हिउँदे बिदा पुनरावलोकन गरी असार २० गतेदेखि साउन १० गतेसम्म मात्र गर्ने र बाँकी अवधिमा सघन रुपमा कक्षा सञ्चालन गरी पाठ्यक्रम बमोजिम कोर्स पूरा गर्ने निर्णय भएको छ ।
“कोभिड प्रभावबाट भएको शैक्षिक क्षतिलाई सकेसम्म न्यूनीकरण गर्दै बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्ने तर्फ सबैले ध्यान केन्द्रित गर्ने निर्णय गरेका छौ,” पौडेलले भन्नुभयो ।
यस्तै शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना अभियानलाई सहज बनाउने र समुदायमा रहेका विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गर्ने भर्ना हुन प्रेरित गर्ने र सोको लागि विद्यालयले आवश्यक सहजीकरण गर्ने, स्थानीय र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका भौतिक सुधार कार्यक्रमलाई समयमा नै सम्पन्न गर्ने र कुनैपनि कार्यक्रमको बजेट फ्रिज हुने वातावरण आउन नदिने, दरबन्दी मिलान तथा व्यवस्थापनको कार्यलाई यथाशिघ्र सम्पन्न गर्ने निर्णय समेत भएको छ ।