अनाथ बालबालिका पढाउन व्यास नगर समता विद्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनाथ बालबालिका पढाउन व्यास नगर समता विद्यालय

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७८, सोमबार

    दमाैली : अनाथ, असहाय, विपन्न बालबालिका पढाउन व्यास नगरपालिकाले व्यास नगर समता विद्यालय स्थापना गर्ने भएको छ । नगरभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाई परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाको शिक्षाका लागि नगरपालिकाले नगर समता विद्यालय स्थापना गर्न लागेको हो ।

    व्यास नगरपालिका–७ शेशमटारमा रहेको व्यास नगर क्यामिन कोट प्राथमिक विद्यालयमा आवासीय विद्यालय स्थापना गर्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । “माध्यमिक तहसम्मको शिक्षा लिन कठिन भएका बालबालिकालाई मध्यनजर गर्दै आवासीय विद्यालय स्थापना गर्ने नीति नगरसभाबाट पारित भएको छ,” सिग्देलले भन्नुभयो ।

    नगरपालिकाले व्यास–१ मा अवस्थित आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न पूर्वधार व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।

    नमूना विद्यालयको रुपमा छनौट भएका निर्मल र सत्यवती माध्यमिक विद्यालयहरुको पूर्वाधार विकासका लागि सहजीकरण, कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यार्थीहरुलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्धलाई निरन्तरता दिने नीति पारित गरिएको छ ।

    नगरपालिका भित्रका धार्मिक विद्यालयहरु, मातृ भाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाई केन्द्रहरु सञ्चालन गर्न सहयोग, यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम र माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा वेदव्यास सम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था, “हाम्रो प्रतिभा हाम्रो गौरव” भन्ने विश्वासका साथ व्यास नगरपालिका भित्रका विभिन्न विधामा नगर क्षेत्र भित्रका विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराई नगर स्तरीय उत्कृष्ट प्रतिभा छनौट गरी सम्मान एवं पुरस्कृत गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।