चितवन : ९ दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भनी आफन्तले सनाखत गरिसकेका छन् ।
वडा नम्बर ३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो । भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । ‘भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाँत हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने । आफन्तका अनुसार बेपत्ता हुनुअघि सुजिताले आत्तिँदै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।