तनहुँ : अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड) ले तरकारी तथा फलफूल खेतीका लागि अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । स्वास्थ्य कार्यालय तनहुँको सहयोगमा रिसेडले आयआर्जनमा सघाउन अपाङ्गता भएका २६ जनालाई तालिम तथा सहयोग प्रदान गरेको हो ।
जिल्लाका आठ स्थानीय तहका अपाङ्गता भएका व्यतिहरुको माग सङ्कलन गरी ११ जनालाई तरकारी खेती, ९ जनालाई कागती खेती, तीन जनालाई केराखेती, दुई जनालाई सुन्तला खेती र एक जनालाई अदुवा खेतीका लागि प्रति व्यक्ति रु पाँच हजारका दरले सहयोग गरिएको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिनुभयो ।
यसरी सहयोग पाएका अपाङ्गता भएका कृषक तथा उनीहरुका अभिभावकहरुले तरकारी तथा फलफूल खेतीसम्बन्धी आधा दिनको तालिम पनि पाएका छन । कार्यक्रमबाट सहयोग पाउनुभएका व्यास–१० डिहीगाउँका विष्णुप्रसाद अधिकारीले यसअघि पनि तरकारी खेती गरिरहेको भन्दै सहयोगले झन् हौसला बढेको बताउनुभयो ।
अदुवा खेतीका लागि सहयोग पाउनुभएका घिरिङका डुल बहादुर थापाले आफूले दुई रोपनी क्षेत्रफलमा अदुवा खेती लगाउने सोचेको भएतापनि सहयोग पाएसँगै चार रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले अपाङ्गता भएका व्यक्तिहरुको सीप विकासका लागि जिल्लामा स्रोत केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रिसेडका महासचिव दामोदर रेग्मीले अपाङ्गता भएका व्यक्तिहरु कोभिडबाट प्रभावित भएका कारण सबै क्षेत्रको उनीहरुलाई सहयोगको खाँचो रहेको औंल्याउनुभयो ।