दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फी रुपमा सञ्चालन छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गा सहितको पहिरा खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो ।
शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भएपनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन,” उहाँले भन्नुभयो । राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारीसाधन जाममा पर्ने गरेको छ ।