भिमाद : तनहुँको भिमाद नगरपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सेवा दिने उद्देश्य सहित एम्बुलेन्स सेवा शुरु गरेको हो ।
ग्रामीण क्षेत्रका बिरामी ओसारपसार गर्न र स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँच पु¥याउने उद्देश्यले बिहीबारदेखि दुई वटा एम्बुलेन्स शुरु गरिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिए ।
नगरपालिकाले भिमाद–६ स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई ग १ झ ५८० नम्बरको एम्बुलेन्स र भिमाद–९ रिठ्गाभञ्ज्याङका लागि ग १ झ ५८१ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरप्रमुख थापाले कुनै पनि नागरिक सहजरुपमा स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताए । “स्वास्थ्य जनताको सबैभन्दा प्रमुख अधिकार भएकाले उक्त अधिकारलाई सम्बोधन गर्न नगरपालिकाले एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो,” उनले भने, “एम्बुलेन्स सेवासँगै गुणस्तरीय स्वास्थ्य सेवा नगरपालिकाको प्राथमिकता हो ।”
दुई वटा व्यवस्थापन समिति मार्फत् एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । व्यवस्थापन समितिले नै दररेट निर्धारण र अन्य सञ्चालनको सबै काम गर्नेछ । भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँका जनतालाई सहज हुने बताए । “बिरामी पर्दा बजारबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता थियो, भनेको समयमा नआइपुग्दा झन् समस्या हुन्थ्यो,” उनले भने, “अब आफ्नै ठाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सर्वसाधारणलाई सहज हुने भयो ।”