दमाैली : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित भिडिओ प्रतियोगिताको उपाधि दमौलीका विकल श्रेष्ठले जितेका छन् । व्यास नगर युवा परिषद्ले बिहीबार आयोजना गरेको प्रतियोगितामा तनहुँसुरको भिडिओ प्रस्तुत गरेका श्रेष्ठ प्रथम हुन सफल भएका हुन् ।
व्यास नगरक्षेत्रभित्रका पर्यटकीय स्थलको भिडिओमार्फत् प्रचारप्रसार र प्रबद्र्धन गर्न आयोजित प्रतियोगितामामा ६ समूहको सहभागिता थियो । प्रथम हुन सफल तनहुँसुरको भिडिओमा त्यस क्षेत्रको इतिहास, ऐतिहासिक स्थलका बारेमा चित्रण गरिएको छ ।
प्रतियोगितामा किरण थापा द्वितीय र पवन सिग्देल र अनिश गुरुङ तृतीय भएका छन् । द्वितीयतर्फ मानुङकोटको भिडिओले उपाधि जितेको छ भने तृतीयतर्फ मानुङकोट, कालिका मन्दिर र व्यास पराशर क्षेत्रको भिडिओले उपाधि जितेको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु दश हजार, रु सात हजार रु तीन हजार नगरउपप्रमुख मीरा जोशीले हस्तान्तरण गरिन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले पर्यटन व्यास नगर क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको चर्चा गर्दै युवाहरुले सशक्त भएर काम गर्न सक्नुपर्नेमा जोड दिए ।
व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले प्रतिस्पर्धाले कमी कमजोरीलाई सुधारेर अगाडी बढ्न प्रेरणा मिल्ने उल्लेख गरे ।
पर्यटनविज्ञ हरिसिं गुरुङको संयोजकत्वमा डा. शेषरमण न्यौपाने र विना कैनी मूल्याङ्कनकर्ताको रुपमा रहेका थिए । भिडिओको गुणस्तर, प्रस्तुति र प्रभावका आधारमा भिडिओको मूल्याङ्कन गरिएको थियो ।
प्रतियोगिताका प्रतियोगीले नगरक्षेत्रभित्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको विश्लेषण हितको भिडिओ प्रस्तुती राखेको नगर युवा परिषद्का उपाध्यक्ष गौरव पन्थले जानकारी दिए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।