ऑबुखैरेनी : नेकपा एमाले तनहुँका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले विगतमा जे जस्तो गतिविधिमा संलग्न भएतापनि आत्मालोचना गरेर पार्टीमा नै फर्कन आग्रह गरेका छन् । लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका नेताहरुले नयाँ पार्टी गठन गरेर कम्युनिष्ट आन्दोलन नै कमजोर बनाएको हुदाँ नेकपा(एमाले)मा नै फर्केर एकजुट हुन आग्रह गरे ।
नेकपा एमाले ऑबुखैरेनी कमिटीद्वारा शनिबार आयोजित कार्यकर्ता भेलामा उनले सो कुरा बताएका हुन् ।
नेकपा एमाले फुटाउन नेपालको शक्ति मात्र नभै विदेशी समेत लागेर पार्टी फुटाउन सफल भएको चर्चा गर्दै उनले यसमा नेपालको नेताहरु भन्दा पनि बाहिरी चलखेलले काम गरेको तर नेताहरु प्रयोग भएको बताए । “विश्वमा नै कम्युनिष्ट आन्दोलन कमजोर बनाउन विदेशी शक्ति सफल भएको छ, त्यसैले त्यो सबै चिर्नका लागि नेपालको कम्युनिष्ट एकजुट हुनपर्छ,” उनले भने । नेकपा एमालेको विभाजनले विश्वमानै नकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
“पार्टी कुनै व्यक्ति विशेषको नभै सामूहिकतामा चल्ने पार्टी हो । विषयमा विविधता हुनु स्वभाविकता हो । व्यक्तिगत स्वार्थ र ईच्छाले पार्टी चल्दैन । पार्टी त विचारको भण्डार हो । तसर्थ पार्टीको मुलधारमा फर्केर काम गर्नुहोस्,” उनले भने । पार्टीभित्र व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण भएको बताउँदै उनले जनताको परिवर्तन र विकास नै एमालेको मुल मन्त्र भएको बताए ।
गाँउ कमिटी अध्यक्ष मिना अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एक बहादुर राना, जिल्ला कमिटीका सदस्य ईन्द्र कुवँर लगायतले बोलेका थिए ।