दमाैली : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँको दश स्थानीय तहमा आज अधिवेशन हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
८५ वटै वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित मतदाताले नगर अधिवेशनका लागि मतदान गर्नेछन् । मतदानबाट सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरु निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था छ ।
व्यास नगरपालिकाको सभापतिमा थुप्रैले आकाङ्क्षा व्यक्त गरेपनि अन्तिममा डम्बरबहादुर अधिकारी र सूर्यचन्द्र हड्खलेबीच प्रतिस्पर्धा हुने बढी सम्भावना छ । शुक्लागण्डकी नगरपालिकामा पुराना नेता गोपीबहादुर गुरुङ सर्वसम्मत हुने निश्चितप्राय छ । दुवै समूहले गुरुङलाई अगाडी सारेका छन् ।
भिमाद नगरपालिकामा दयानिधि पौडेल, चित्रबहादुर राना, अर्विन श्रेष्ठ, रामकृष्ण थापा र टेकबहादुर थापा नगर सभापति बन्न चाहन्छन् । भानु नगरपालिकामा रामकुमार श्रेष्ठ र नविनराज दाहालबीच प्रतिस्पर्धा हुँदैछ । म्याग्दे गाउँपालिकामा रामभक्त घिमिरे र विनोद खनालबीच प्रतिस्पर्धा हुँदै ।
घिरिङ गाउँपालिकामा इमानसिंह थापा, चुननारायण श्रेष्ठ, सुमन थापा, गङ्गाराम कुमाल र पशुपति पोखरेल दावेदार हुन् । ऋषिङ गाउँपालिकामा दानबहादुर श्रेष्ठ र तिलबहादुर थापा सभापति बन्न दौडधुप गरिरहेका छन् ।
बन्दिपुर गाउँपालिकामा बैंश गुरुङ र कर्ण खत्रीबीच प्रतिस्पर्धा हुँदैछ । आँबुखैरेनी गाउँपालिकामा विष्णु पन्थ, प्रितम गुरुङ, रत्नकुमार श्रेष्ठ र ऋषि केसी लगायतले सभापति बन्ने चाहना व्यक्त गरेको पार्टी स्रोतले जनाएको छ । देवघाट गाउँपालिकामा तिलबहादुर थापा र अर्जुन अधिकारी सभापतिका दाबेदार हुन् ।