भिमाद : विश्व पर्यटन दिवसको अवसरमा रोटर्याक क्लब अफ भिमादले धन्दुर सिद्धगुफामा सरसफाई गरेको छ । भिमाद नगरपालिका–९ मा अवस्थित गुफामा क्लवले सोमबार सरसफाई गरेको हो ।
‘स्वच्छ र हरियाली वातावरण बाँच्ने जीवनको आधार’ भन्ने मूल नारा सहित क्लबका सम्पूर्ण सदस्यहरू मिलेर सरसफाई अभियानमा जुटेको रोटर्याक क्लब अफ भिमादका अध्यक्ष दीपेन्द्र भण्डारीले बताए । भिमाद नगरपालिकाको गौरवसँग जोडिएको र पर्यटकीय गन्तव्यमा सूचीकृत सिद्धगुफाको महत्व र प्राकृतिक सौन्दर्यता जोगाउनका लागि सरसफाई गरिएको उनले बताए ।
विगतमा सिद्धगुफा धन्दुर चर्चामा आए पनि लकडाउनका कारण ओझेलमा परेको कार्यक्रम संयोजक मनिष श्रेष्ठले बताए । स्थानीय ठाउँमा रहेको पर्यटकीय महत्व बोकेको सिद्धगुफालाई संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व भएको उनले बताए ।