दमौली : नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँका सचिवालय सदस्य एवं नगर इन्चार्ज प्रदीपराज अधिकारीले नेकपा(एमाले)को संगठनलाई सुढढ बनाइने बताएका छन् । एमाले व्यास–५ द्वारा शनिबार आयोजित कार्यक्रममा नगर इन्चार्ज अधिकारीले सो कुरा बताएका हुन् ।
“एमाले आफैमा कमजोर छैन, तर संगठित हुन नसक्दा अहिलेको अवस्था आएको हो,” उनले भने, “पार्टी फुटको तनहुँमा कुनै असर छैन ।” सरकारले राम्रो काम गरेको हुँदाहुँदै पनि परमादेश मार्फत विस्थापित भएको हुँदा त्यसको असर अहिले देखिएको उनले बताए ।
अबको निर्वाचनवाट फेरि नेकपा एमाले पहिलो शक्ति बन्ने दावी उनले गरे । “देशैभर एमालेप्रति जनताको प्रवेशले पनि सो कुरा पुष्टि भएको छ,” उनले भने ।
नेकपा एमाले व्यास नगर कमिटी वडा नं ५ का वडाध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सचिवालय सदस्य दिपेन्दराज शाही, नगर सदस्य युवराज खनाल, पूर्व वडाध्यक्ष बलभद्र श्रेष्ठ, प्रेम प्रसाद पौडेल लगायतले अबको दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारेका थिए ।