किसानलाई अनुदानमा आलुको बीउ बाँड्दै व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    किसानलाई अनुदानमा आलुको बीउ बाँड्दै व्यास

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७८, मंगलवार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । व्यासलाई आलुमा आत्मनिर्भर गराउन नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गर्न लागेको हो ।

    कृषकको माग अनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा करिब ६ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।

    कार्यपालिका बैठकले जलस्रोत कार्यविधि २०७८ पारित गरी नगरप्रमुखको अध्यक्षतामा जलस्रोत समिति गठन गरेको छ । व्यास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई निर्देशन दिने निर्णय भएको छ ।

    व्यास नगरपालिका अन्तर्गत विगत तीन वर्षको व्यवसाय कर उठाउन बाँकी देखिएकाले पुस मसान्तभित्र व्यवसाय कर बुझाउने व्यवसायीहरुको आर्थिक वर्ष ०७६÷७७ को व्यवसाय कर छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।