कांग्रेस महाधिवेशन : २९ मतपत्र, ११०० बुथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस महाधिवेशन : २९ मतपत्र, ११०० बुथ

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७८, सोमबार

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । चार वर्षे कार्यकालका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन साँझ पाँच बजेसम्म हुनेछ ।
     
    निर्वाचन पश्चात् आजै सभापतिको मतगणना सुरु हुने उनले जानकारी दिए । 
     
    १६७ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये १३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।
     
    १४ पदाधीकारीमा ३७ जनाको भिडन्त 
    कांग्रेसमा १४ पदाधीकारी पद रहेको छ । जसमा १ सभापति, २ उपसभापति र २ महामन्त्री रहेका छन् । सहमहामन्त्रीको संख्या ८ छ । 

    सभापति पदमा ५ जनाजना चुनावि मैदानमा छन् । जसमा वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । 

    दुई उपसभापति पदमा ७ जनाको उमेदवारी परेको छ । जसमा महेश आचार्य, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र दिव्यश्वरी शाह छन् । 

    दुई महामन्त्री पदमा ६ जनाको भिडन्त हुने भएको छ । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की छन् । क्लष्टरमा रहेका ८ सहमहामन्त्री पदमा १९ जनाले चुनाव लड्ने भएका छन् ।
    नयाँ कार्यकालका लागि ३५ खुला केन्द्रीय सदस्यमा ९९ जनाको उमेदवारी परेको छ । ९ जना खुला महिला केन्द्रीय सदस्यमा ३० जनाले उमेदवारी दिएका छन् । १६७ पदमा ५ सय भन्दा बढीको उमेदवारी परेको छ । 
        
    कार्यकाल चार वर्ष 
    पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानले  व्यवस्था गरेको छ ।

    जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    २९ वटा मतपत्रमा मतदान
    महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।

    महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ÷शुभेच्छुक संघ–संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

    भृकुटीमन्डपको प्रांगणमा प्रदेश नम्बर–२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।