दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी सेवा सुरु गरेको छ । प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी प्रदान गर्न शुक्रबारदेखि सेवा सुरु गरेको हो ।
पहिलो चरणमा दैनिक दश जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । “सुरुवाती चरण भएकाले अहिले दैनिक दश जनालाई मात्रै सेवा दिने गरी काम सुरु गरेका छौ, विस्तारै सङ्ख्या बढ्दै जान्छ,” उनले भने ।
विद्युतीय राहदानी सेवाका लागि आवेदन बुझाउन विभिन्न प्रक्रिया पूरा गरी फारम भर्नुपर्नेछ । अनलाइनमार्फत् भरिएको फारम लिएर सेवाग्राही प्रशासन कार्यालयमा जानुपर्ने हुन्छ । विद्युतीय राहदानीका लागि फोटो खिच्ने व्यवस्था प्रशासन कार्यालयमै गरिएको छ ।
विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको दश अङ्कको नम्बर अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि नियमित रुपमा काम भइरहेको छ । त्यसका अतिरिक्त व्यास नगरपालिकाका १४ वटै वडामा पनि विवरण दर्ताको काम भइरहेको छ ।
लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित राहदानीलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले झन्डै ११ वर्षपछि विद्युतीय राहदानी प्रयोगमा ल्याएको छ । अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ ।
प्रत्येक पाँच–दश वर्षमा राहदानीमा सुरक्षाका प्रावधानहरू अद्यावधिक गर्नुपर्छ । राहदानीमा सुरक्षा प्रावधान अद्यावधिक गरिएको छ । एमआरपीको तुलनामा विद्युतीय राहादानी बढी विश्वसनीय र सुरक्षित भएको विभागको दावी छ ।
अब स्वयं व्यक्तिबाहेक अरुले कुनै पनि तरिकाले राहदानी लिन नसक्ने र नक्कली काम नहुने विभागले गरेको छ । विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिएको छ ।