कांग्रेस नेता पौडेल भन्छन् – एमसिसीमा प्रचण्ड–माधवले सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस नेता पौडेल भन्छन् – एमसिसीमा प्रचण्ड–माधवले सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७८, बिहीबार

    दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा प्रचण्ड र माधवले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले माओवादी र नेकपा एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारे ।

    “सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भनेपनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस छ,” पौडेलले भने । वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौ भन्ने सपना नदेख्न गठबन्धनका नेताहरुलाई आग्रह गरे । तर वर्तमान गठबन्धन टुटेमा कस्तो गठबन्धन बन्छ भन्ने बारेमा अहिल्यै भन्न नसकिने उनको भनाई थियो । “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,” उनले भने ।

    एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । “एमसिसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो,” उनले भने, “जनताका बीचमा भ्रम फैलाउने काम कम्युनिष्टले गरेका छन् ।”

    वरिष्ठ नेता पौडेलले प्रचण्ड र माधव नेपालले एमसिसीमा सहयोग नगरेपनि केपी ओलीले सहयोग गर्नुपर्ने धारणा राखे । “केपी ओलीको नेतृत्वको सरकारले एमसिसी संसदमा दर्ता गराएको थियो, यसलाई पास गर्न एमालेले सहयोग गर्नेमा विश्वस्त छौ,” उनले भने । एमालेको माग पूरा गरे एमसिसीमा सहयोग गर्न सकिने बताएको भन्दै उनले भने, “काङ्ग्रेस एमालेको माग पूरा गर्ने स्थितिमा पुग्न थालेको छ, त्यस्तो नहोला भन्न पनि सकिदैन ।”

    वरिष्ठ नेता पौडेलले निर्वाचनमा काङ्ग्रेस एक्लै जानुपर्ने र गठबन्धन गर्नुपर्ने दुईवटा धार देखा परेको भन्दै अहिलेको परिस्थितिका कारण गठबन्धन आवश्यक रहेको टिप्पणी गरे । “समावेशीताका कारण कुनैपनि पार्टीको बहुमत आउने स्थिति छैन, कम्युनिष्ट एक ठाउँमा उभिए भने काङ्ग्रेसले प्रतिस्पर्धा गर्न गाह्रो छ,” उनले भने ।