दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक स्थल तनहुँसुरको विकासको गति सुरु भएको बताएका छन् । नेकपा एकीकृत समाजवादी व्यास–११ ले शनिबार देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताएका हुन् ।
तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, “ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि प¥यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु ।” आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्र भएको बताउँदै मन्त्री श्रेष्ठले भने, “विकासमा कसैलाई काखापाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो ।”
कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै मन्त्री श्रेष्ठले अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताए । रुखलाई बीचमा पारेर सडक कालोपत्र भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । “यदि सडक कालोपत्रे हुन्थेन भने चौतारी र देउरालीडाँडा चर्चित हुने थिएन,” उनले भने । मन्त्री श्रेष्ठले देउरालीडाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आफू जनताको सेवक भएको बताउँदै मन्त्री श्रेष्ठले जनताको काम र सेवा गर्न राजनीति सुरु गरेको बताए । “म शासक होइन, सेवक हो, जनताको सेवामा सधैं समर्पित हुनेछु,” उनले भने । तनहुँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको दावी गर्दै मन्त्री श्रेष्ठले भानुमा रु ५० करोड र भिमादमा रु २५ करोडका योजना सञ्चालनको तयारीमा रहेकाे जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठले स्थानीय अग्रसर नभएसम्म तनहुँसुरको विकास सम्भव नभएकाले जनता नै जागरुक बन्नुपर्नेमा जोड दिए। तनहुँसुरलाई काङ्ग्रेसको अध्ययन केन्द्र बनाउन प्रस्ताव गरिएपनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले त्यसलाई वेवास्ता गरेको श्रेष्ठको भनाई थियो ।
नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्कीले तनहुँसुरको विकासमा श्रममन्त्री श्रेष्ठको योगदानलाई भुल्न नमिल्ने बताए। नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सन्जय श्रेष्ठले तनहुँसुरको विकासका सबैको एकमात्र लक्ष्य रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका नेता एवं स्थानीयवासी ज्ञानबहादुर थापा र मदन थापाले तनहुँसुरको विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसको नेतृत्व लिन पनि श्रममन्त्री श्रेष्ठलाई आग्रह गरे।