


तनहुँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि तनहुँकी एक बालिकाले अनुकरणीय सहयोग गरेकी छन्।
व्यास नगरपालिका–१२, चारकुने, छाब्दीस्थित छाब्दी बाराही आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा कृति आलेले आफ्नो खुत्रुकेमा जम्मा गरेको रु १० हजार ७ सय रुपैयाँ बाढीपीडितको सहयोगका लागि प्रदान गरेकी हुन्।
सानै उमेरमा आफ्नो इच्छा र आवश्यकताका लागि जम्मा गरेको बचतसमेत विपद्मा परेका नागरिकको पीडामा मलम लगाउन खर्चिने निर्णय गर्दै कृतिले उक्त रकम विद्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेकी हुन्।
कृतिको यो सहयोग रकमका हिसाबले सानो देखिए पनि भावना र मानवीय संवेदनाका दृष्टिले निकै ठूलो रहेको विद्यालयले जनाएको छ। आफ्नो खुत्रुके फुटाएर विपद्मा परेका परिवारको दुःखमा साथ दिने उनको कदमले बालबालिकामा समेत सामाजिक उत्तरदायित्व र मानवीय भावनाको सुन्दर उदाहरण प्रस्तुत गरेको विद्यालयका प्रअ गोमबहादुर रानाले बताए।