विद्यार्थी मृत्यु प्रकरण : लमजुङमा निषेधाज्ञा खुलेन, यस्ता छन् पीडितका अडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यार्थी मृत्यु प्रकरण : लमजुङमा निषेधाज्ञा खुलेन, यस्ता छन् पीडितका अडान

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७८, बुधबार

    तनहुँ । लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा जारी छ । मंगलबार मस्र्याङ्दी नदीले बगाउँदा विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर पीडितपक्षले प्रदर्शन चर्काउँदै लगेपछि प्रशासनले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

    यस विषयमा जिल्ला प्रशासन कार्यालय लमजुङमा त्रिपक्षीय बैठक बसिरहेको छ । सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविमा १० कक्षामा अध्ययनरत तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका १८ बर्षीय सनिज श्रेष्ठको मंगलबार दिउँसो मर्स्याङ्दीले बगाएर मृत्यु भएको हो । होस्टेलमा बसेका विद्यार्थीलाई वार्डेनले बोलाएर पौडी खेल्न गएको र मृत्यु भएको भन्दै पीडित परिवार आक्रोसित छन् । उनीहरुले विद्यालयका संचालक बाबुराम पौडेल र वार्डेन सरोज अमलियालाई कारबाहीको माग गरेका छन् । 

    विद्यालय परिवार, पीडितपक्ष र स्थानीय प्रशासनका प्रमुखहरु बैठक बसिरहे पनि के गर्ने भन्ने विषयमा अझै समस्याको समाधान निस्किएको छैन । यसअघि सिउँडीबारमा वार्ता बस्ने भनिएकोमा प्रारम्भिक वार्ता गरेर पीडित र पीडक पक्ष दुवैलाई प्रशासनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए । उनका अनुसार वार्ता चलिरहेको छ । कुनै निषकर्ष निस्केको छैन ।

    प्रशासनमा भइरहेको वार्तामा मृतकका बुवा महेन्द्र श्रेष्ठले कुनैपनि हालतमा स्कुलका संचालक बाबुराम पौडेल र होस्टेल वार्डेन सरोज अमलियालाई कारबाही गर्न माग गरेका छन् । कारबाही नभएसम्म आफ्नो छोराको शव नबुझ्ने बुवा महेन्द्र श्रेष्ठले अडान लिएका छन् ।

    संचालक पौडेलले कानुन बमोजिम राहत तथा क्षतिपूर्ति दिने र त्यसबाहेक केही गर्न नसक्ने अडान लिएका छन् । पीडितपक्षले आफूलाई जानकारी नगराई प्रहरीले शव उठाएर अस्पतालमा ल्याएको भन्दै यसबारे अनुसन्धान गर्न समेत माग गरेको छ । पीडित र पीडक पक्ष दुवै आ–आफ्नो अडानमा रहेको प्रशासनले जनाएको छ ।

    लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी १८ बर्षीय सनिज श्रेष्ठको मंगलबार मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको थियो ।

    बिदाको दिन वार्डेनले नै लगेर नियोजित रुपमा पौडी खेल्न लगाएको र मृत्युको कारण वार्डेन साथै विद्यालय परिवार रहेको पीडितपक्षको आरोप छ । होस्टेलका विद्यार्थीलाई जवर्जस्ती पौडी खेल्न लगेको, पौडी खेल्न अगाडि धकेलेको, आफन्तलाई थाहै नदिइ शव लगेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।