भिमाद । तनहुँको दुई पालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो ।
भिमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा विसं २०७७ माघदेखि पुल निर्माणको काम सुरु भएको थियो । वर्षायाममा खोला बढेर तर्न गाह्रो हुने ठाउँमा पक्की पुल निर्माणपछि स्थानीयवासी खुसी भएका छन् । उक्त पुलको शिलान्यास तत्कालिन अर्थमन्त्री किरण गुरुङले गरेका थिए । पुल निर्माण सम्पन्न भएपछि आइतबार उक्त पुलको पूर्वमन्त्री गुरुङले नै उद्घाटन गरेका छन् ।
पुलको उद्घाटन गर्दै पूर्वमन्त्री गुरुङले अब यस भेगका जनताले खोला तरेर जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । “यहाँ पुल नहुँदा जनतालाई धेरै दुःख भयो, त्यही दुःख अन्त्यका लागि हामी सरकारमा हुँदा बजेट हालेका थियौ, समयमै काम सम्पन्न भएको छ,” गुरुङले भने ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । २५ मिटर लामो पुलको चौडाई ८.४ मिटर रहेको छ । ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४÷१.४ को पेटी निर्माण भएको छ ।
वर्षायाममा मान्छे बगाउने खोलामा पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको स्थानीयवासी एवं नेकपा एमाले ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङले बताए । “हिउँदमा सामान्य भएपनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ,” उनले भने, “फेदीखोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयवासीलाई अब सहज भयोे ।”
फेदीखोला हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुन्छ । खोला बढेको बेला वारपार गर्न सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो ।
ऋषिङ गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्दथे । तर पुल बनेपछि अब खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । फेदीखोलामा पक्की पुल निर्माण भएपछि भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाका हजारौ सर्वसाधारण लाभान्वित भएका छन् ।