दमाैली । व्यास नगरपालिकाको आयोजनामा मेयर उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा नगरपालिकाले माध्यमिक विद्यालय स्तरीय मेयर उपमेयर कप फुटबल प्रतियोगिता सुरु गरेको हो ।
व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सुरु प्रतियोगिताको गण्डकी प्रदेश सांसद सरिता गुरुङले उद्घाटन गर्दै विद्यालयस्तरदेखि नै बालबालिकामा खेलकुदप्रति प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
विद्यालय स्तरदेखि नै विद्यार्थीमा खेलप्रतिको रुची बढाउने उद्देश्य सहित नगरपालिकाले विगत वर्षदेखि मेयर तथा उपमेयर फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत बिहीबार छ विद्यालयबीच प्रतिस्पर्धा भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ ।