घिरिङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले अहिलेको गठबन्धन सरकारले विकासका कुनैपनि काम गर्न नसकेको बताएका छन् । घिरिङ गाउँपालिका–५ स्थित कामधेनु माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै गुरुङले अहिलेको सरकारले केही काम नगरेको बताए ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले आफू सरकारमा हुँदा घिरिङलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपनि अहिलेको सरकारको बजेट हेर्दा दिक्क लागेको बताए । गुरुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुन सरकारले कति काम गरेको छ त्यसको लेखाजोखा गर्न जनतालाई आग्रह गरे ।
उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर घट्दै गइरहेको अवस्थामा विद्यालयमा राजनीति गर्न नहुने बताए ।
कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङ विकासको गतिमा अगाडी बढेको बताए । उनले गाउँपालिकाभित्रका शिक्षण संस्थाको स्तरवृद्धि, शैक्षिक सुधार लगायतलाई प्राथमिकतामा राखिएको बताए ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका उपाध्यक्ष सरस्वती सिग्देल, नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, पूर्व उपसचिव विष्णुभक्त सिग्देल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलबहादुर आलेले वार्षिक प्रतिवेदन गरेका थिए ।