


दमाैली । व्यास नगरपालिकाभित्रका २१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । राष्ट्रव्यापी खोप अभियान अन्तर्गत सञ्चालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियानका क्रममा व्यास नगरपालिकाभित्रका २१ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य शाखाले सोमबार खोप समन्वय समितिको बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम गरी अभियान बारे जानकारी गराएको छ । चैत २५ गतेदेखि १४ वटै वडाका विद्यालयमा खोप केन्द्र कायम गरी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिइन् । लक्षित सङ्ख्या धेरै र स्वास्थ्यकर्मी सीमित रहेकाले खोप अभियान चुनौतिपूर्ण रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताइन् । खोप अभियानमा सबैलाई समेट्न सरोकारवालाको भूमिका महत्वपूर्ण रहन उनले बताइन् ।
स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत कल्पना दाहालले लक्षित सङ्ख्याको ८० प्रतिशत बालबालिका विद्यालयमा रहने भएकाले विद्यालयमै खोप केन्द्र निर्धारण गरेर खोप दिइने जानकारी दिइन् । अहिले अभियानको रुपमा यसलाई सञ्चालन गरिएपनि पछि नियमित खोप अभियानमा यसलाई समावेश गर्ने तयारी छ ।
विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने सो अवसरमा उनले जानकारी गराइन् ।
टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भएपनि विस्तारै ठिक हुने बताइएको छ ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खोप अभियान सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहने बताउँदै खोप अभियान विश्वसनीय बनाउन वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता थियो ।