दुलेगाैडा । लियो क्लव अफ खैरेनीटार दुलेगौडा मन्त्रले आयोजना गरेको खुल्ला महिला तथा पुरुष लियो मिनी म्याराथन प्रतियोगिताको उपाधि पुरुषतर्फ सनम गुरुङ र महिलातर्फ अनुषा श्रेष्ठले जितेका छन् ।
नयाँ वर्षको अवसरमा क्लवले बिहीबार आयोजना गरेको ६ किलोमिटर दूरीको दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ आँबुखैरेनी–१का सनम गुरुङले जितेका हुन् । दुलेगौडादेखि उदेनढुङ्गासम्मको दूरी उनले २४ मिनेटमा पूरा गरे ।
प्रतियोगितामा दमौलीका सोमबहादुर कुमाल द्वितीय, पर्वतका विकास कार्की तृतीय र भिमादका विकास श्रेष्ठ सान्त्वना हुन सफल भएको क्लवका नविन घिमिरेले जानकारी दिए । उनीहरुले उक्त दूरी क्रमशः २५ मिनेट पाँच सेकेण्ड, २५ मिनेट १८ सेकेण्ड र २५ मिनेट २३ सेकेण्डमा पूरा गरे । विजेताहरुले क्रमशः दश हजार, ६ हजार, ४ हजार र एक हजार प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ हटियाकी अनुषा श्रेष्ठले ५८ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पार गरेकी थिइन् । उनले तीन हजार नगद प्राप्त गरेकी छन् ।
विजेतालाई लियो मल्टिपल डिस्ट्रिक्ट काउन्सिलका अध्यक्ष आदर्शमोहन भट्टराईले पुरस्कार वितरण गरेका थिए । क्लवले सोही अवसरमा दिवस माध्यमिक विद्यालयमा अध्ययनरत १ देखि १० कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।