दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यतालिका छ । यद्यपि शनिबारसम्म राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यास नगरपालिकामा राजनीतिक दललाई उम्मेदवारी दर्ताको समय व्यवस्थापन गर्ने भएको छ। एकैचोटी आउँदा भिडभाड हुने भएकाले छुट्टाछुट्टै समयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाउन लागिएको हो ।
त्यसका लागि शनिबार राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । ‘दलकै सहमति अनुसार समयको व्यवस्थापन गर्ने तयारी गरेका छौ,’ उनले भने।