शुक्लागण्डकी नगरपालिका – २ : तीन युवाको रोचक भिडन्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिका – २ : तीन युवाको रोचक भिडन्त

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७९, बुधबार

    दुलेगौँडा । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँ शहर जताततै रौनक बढ्दो छ । उम्मेद्वारहरु घरदैलोमा व्यस्त छन् । कस्ले यसपालीको निर्वाचनमा बाजी मार्ला अड्कलबाजी भईरहेका छन् । तर अन्तिम मत परिणाम नआएसम्म यसै भन्न सकिदैन् ।

    शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्ष बन्ने होडमा सात जनाले उम्मेद्वारी दिएका छन् । यो वडामा मुख्यत तीन दलका उम्मेद्वारबिच भिडन्त हुने देखिन्छ । नेकपा एमालेका तिर्थराज खनाल, नेपाली कांग्रेसका सुमनबहादुर राना मगर र माओवादी केन्द्रका शंकर पन्तबिच प्रतिष्पर्धा हुनेछ । तीनै जना युवाहरु जसै जित्ने दाउमा छन् ।

    स्वतन्त्रबाट बिमल गिरी, बेलकुमारी फगामी र रिता थापाले पनि वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणप्रसाद खनालको पनि वडाध्यक्षमा उम्मेद्वारी परेको छ ।

    यो वडामा अघल्लिो निर्वाचनमा नेकपा एमालेका जगतबहादुर गुरुङ निर्वाचित भएका थिए । उनले ७४० मत पाउँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका सुमनबहादुर राना मगरले ५६३ र नेकपा माओवादी केन्द्रका शरन सापकोटाले ३१७ मत पाए । वडा सदस्यमा पनि एमालेले नै क्लिनस्विप गरेको थियो ।

    यसपालि पनि यो वडामा त्रिपक्षिय भिडन्त हुदैँछ । खनालले शहकारीको जागिर त्यागेर वडाध्यक्ष बन्नलाई दौडधुप गरेका छन् । एमालेको विरासत धान्नैपर्ने दबाब उनलाई छ । सुमनबहादुर अघिल्लो निर्वाचनमा व्यहोरेको हारको बदला लिन चाहान्छन् । लोकदोहोरी गायक पन्त पनि विजयी भएर वडालाई नमुना बनाउने योजनाका साथ कस्सिएका छन् । अघिल्लो निर्वाचनमा तेस्रो भएको पार्टीलाई वडामा पहिलो बनाउन उनले निकै कसरत गरिरहेको पाइन्छ ।

    नेकपा एमालेका खनालसँग सडक स्तरोन्नती र कालोपत्रे, वडावासीलाई शुद्ध खानेपानीको व्यवस्था, शैक्षिक गुणस्तरको सुधार, पर्यटनको प्रबद्र्धन लगायतका योजना छन् । वडामा रहेका श्रमिकका लागि मजदुर सञ्चित कोषको स्थापना गर्ने प्रतिबद्धता उनले गरेका छन् । निर्वाचित भएर यो योजना पुरा गर्न सके उनी निकै लोकप्रिय बन्नेछन् । श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने उनले बताए । क्रसर उद्योगबाट निस्कने लेदोको कारण कुरुप बनेको सेती नदीको स्वरुपमा परिर्वतन ल्याउने खनालको उद्घोष छ ।

    ‘पवित्र सेती नदीको धार्मिक अस्तित्व जोगाई राख्न क्रसरबाट निस्कने धुलो धुवा र लेदो नियन्त्रण गर्दै कञ्चन र सफा बनाउनेछौँ’, उनले योजना सुनाए । वडाबाट प्रवाह हुने सेवालाई छिटो छरितो र पारदर्शि बनाउने उनले बताए । ‘वडा कार्यालयका कर्मचारीबाट हुन सक्ने ढिलासुस्ती र झन्झटमुक्त बनाउनलाई गुनासो सुन्ने छुट्टै विभाग गराउनेछौँ’, उनले भने । बाँझो जमिनलाई हराभरा बनाउनलाई तीर्थसँग विरुवा भत्ताको योजना छ । जस अनुसार पहिलो बर्ष अनुदानमा विरुवा वितरण गरिनेछ र तीन बर्ष विरुवा हुर्काउनेलाई पनि अनुदान दिइनेछ ।

    वडाको सकरात्मक परिवर्तनका लागि आफु वडाध्यक्षको प्रतिष्पर्धामा फेरी उत्रिएको कांग्रेसका राना मगरले बताए । पाँच बर्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले केही काम गर्न नसकेकाले यसपाली जनताले आफुलाई जिताउने उनको दाबी छ । सामाजिक विकास, विपदमा परेकालाई तत्काल राहतको व्यवस्था, सामाजिक एकतामा विशेष जोड, सँस्कृति र लोकभाको संरक्षण, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने, वडाका दुर्गम भेगमा सम्पर्क कार्यालय स्थापना, कृषि सामाग्रीको बजारीकरण, किसानलाई प्राविधिक ज्ञान, विउ विजनमा अनुदान, बादरको नियन्त्रण, सिँचाई, हाट बजारको व्यवस्थापन, रैथाने बालीलाई प्रोत्साहन लगायतका प्रतिबद्धता गर्दै उनले घरदैलो गरिरहेका छन् । झन्डै दुई दशक लामो समय सामाजिक सेवा दिनरात नभनि खटिएकाले आफुले जित्ने उनको भनाई छ । ‘मैले गरेको सामाजिक कामले छुट्टै पहिचान दिएको छ । विकास निर्माणमा जहाँ पनि जहिले पनि अग्रणी भुमिका खेलेको छु । यिनै मेरो जित्ने आधार हुन’, उनले भने ।

    ‘वडाको आम्दानी वडामै लगानी’ नारा लिएर माओवादीका उम्मेद्वार पन्त चुनावी मैदानमा छन् । उनि भन्छन्, ‘नगरमा सबैभन्दा धेरै हाम्रो वडाबाट आम्दानी हुन्छ । तर हामीले के पायौँ ? धुलो मैलो ! बाटो भत्किएको हाम्रै वडामा छ । केही काम नभएको वडा पनि हाम्रो नै हो । सबै अस्तव्यस्त छ । सबै भन्दा धेरै आम्दानी हाम्रै वडामा छ तर लगानी नै छैन् । हामीलाई नगरले दिने बजेट बरु चाहिदैन्, यहीँको आम्दानीले बिकास गर्नेछौँ’, उनले सुनाए । दगाम भुजिकोटलाई पर्यटनको हब बनाउने, मनकौरी मोटरमार्ग कालोपत्रे गर्ने, दुई बर्षमा वडालाई दुध र माछामासुमा आत्मानिर्भर बनाउने, शैक्षिक गुणस्तर उकास्ने, कला साहित्यको उत्थान, स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने योजना रहेको उनले बताए । ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने पन्तको प्रतिबद्धता छ । एक्लेखेतमा रंगशाला, बेरोजगार युवालाई रोजगारीको व्यवस्था, सिपमुलक तामिलको व्यवस्था, व्यायमशालाको निर्माण, लैंगिक समनताका लागि छोरा र छोरीलाई घरायसी काममा समान सहभागी गराउने, हरेक चौमासिकमा सार्वजनिक सुनवाई गर्ने योजना उनीसँग छ । वडाको सेवाप्रति उजुरी गर्ने व्यवस्था मिलाउने उनले बताए ।