दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तह निर्वाचनमा आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले आचारसंहिता पूर्ण रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विज्ञप्ती जारी गरी निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, टि–सर्ट, कमिज, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, टाटु जस्ता साङ्केतिक सामग्रीहरू उत्पादन, प्रयोग, बिक्री वितरण वा प्रदर्शन नगर्न प्रशासनले आग्रह गरेका हुन् ।
विज्ञप्तीमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाहरूलाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न÷गराउन, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थान, सार्वजनिक भवन, सार्वजनिक स्थानमा कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, साइन बोर्ड, दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख वा टाँस्न, दलको झण्डा वा दलको उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न÷गराउन तथा माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधरण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीत÷नाराहरू बजाउने जस्ता कार्यहरूमा प्रतिबन्ध गरिएको उल्लेख छ ।
कोही कसैबाट उल्लेखित क्रियाकलापका अतिरिक्त आचारसंहिता विपरितका कार्यहरू भए गरेको पाइएमा सुरक्षाकर्मीहरूको प्रयोग गरी उल्लिखित कार्यहरू नियन्त्रण गरिने तथा हटाइने र प्रचलित कानून बमोजिम कारवाहीका लागि निर्वाचन आयोग नेपालमा सिफारिस गरिने प्रशासनले जनाएको छ ।