तनहुँमा मौन अवधिको उल्लङ्घन, सामाजिक सञ्जालमार्फत् मत माग्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मौन अवधिको उल्लङ्घन, सामाजिक सञ्जालमार्फत् मत माग्दै

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७९, बुधबार

    दमौली । बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु भएपनि तनहुँमा मौन अवधिको उल्लङ्घन गर्ने क्रम बढेको छ । मौन अवधिभर प्रचारप्रसार, सभा सम्मेलन, सामाजिक सञ्जालमार्फत् मत माग्ने काम गर्न पाइँदैन ।

    तर तनहुँमा नेपाली कांग्रेसका सचिव सहदेव अधिकारी र कांग्रेसका तर्फबाट ऑबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार पवित्रा गौलीले सामाजिक सञ्जाल फेसबुक मार्फत् मत मागेका छन् ।

    अधिकारीले बुधबार बिहान ७ बजे र गौलीले ७:४२ बजे सामाजिक सञ्जाल मार्फत् मत मागेका छन् ।

    यस्तै नेकपा माओवादी केन्द्रबाट बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पनि बुधबार बिहान ९:२२ बजे सामाजिक सञ्जाल मार्फत् मागेर मौन अवधिको उल्लङ्घन गरेका छन्।

    मौन अवधिमा के गर्न पाइँदैन ?

    स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचारप्रसार सकिसकेपछि मतदातालाई आफ्नो धारणा बनाउन समय दिन चुनावअघिको दुई दिनलाई मौन अवधिको रूपमा राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्। 

    “मङ्गलवार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिने अन्तर्राष्ट्रिय अभ्यास समेत लागु गरिँदै छ,” आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्। 

    “मतदान अवधि नसकिँदासम्म यी प्रावधान कायम रहन्छन्।” वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि अपराह्ण ५ बजेसम्म मतदान हुने छ। 

    तर अन्तर्राष्ट्रिय उडानहरू भने रोक नलगाइएको बताउँदै मतदानको दिन नेपाल आउने यात्रु तथा पर्यटकलाई अन्य अनुमतिपत्र नलिएका हकमा सम्बन्धित टिकटका आधारमा होटलसम्म पुर्‍याउने व्यवस्था गर्न वायुसेवा कम्पनीहरूलाई भनिएको श्रेष्ठ बताउँछन्।

    मौन अवधि: सबै चुनावी कार्यक्रम बन्द

    मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्ण रूपमा बन्द गर्न निर्वाचन आचारसंहिताले भनेको छ। 

    उक्त अवधिभरि कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख छ।

    “मतदाता प्रभावित गर्ने खालका कुनै पनि गतिविधि यस अवधिमा गर्न पाइँदैन,” आयोगका सहसचिव श्रेष्ठ भन्छन्। 

    “नाराबाजी गर्नेदेखि प्रचारसामग्री वितरण गर्ने कुनै पनि काम यसबीचमा गर्न पाइँदैन। दबावरहित वातावरणमा मतदाताले आफ्नो दृष्टिकोण बनाउन सकून् भनेर चुनावका बेला त्यस्तो अवसर दिने गरिएको हो।”

    मौन अवधिमा सामाजिक सञ्जालमा समेत मत माग्ने काम गर्न नहुने निर्वाचन आयोगले जनाएको छ। 

    आयोगले त्यसबीचमा मत माग्नका लागि धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा समेत प्रदान नगर्न दूरसञ्चार प्रदायकहरूलाई निर्देशन दिएको छ।