तनहुँमा कांग्रेसको नतिजा खस्कियो, माओवादीको सुधार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा कांग्रेसको नतिजा खस्कियो, माओवादीको सुधार

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७९, बुधबार

    दुलेगौडा । तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ । गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नजिता खस्किएको हो ।

    तनहुँ कांग्रेसको पकड जिल्लाको रुपमा लिइन्थ्यो । गत स्थानीय निर्वाचनमा जिल्ला समन्वय समितिका लागि एक्लै बहुमत पुर्याएको कांग्रेस प्रमाणित पनि गरेको थियो । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भने कांग्रेसको गण भत्काउदै कम्युनिष्टले किल्ला बनाएका थिए । यसपाली भएको स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी त बनेको छ नै । तर जिल्ला समन्वयमा नेकपा एमाले र माओवादीसँग नमिलेसम्म बहुमत नपुग्ने स्थितिमा खुम्चिएको छ ।

    जिल्लाका १० मध्ये नेपाली कांग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको छ । व्यास नगरपालिका, भानु नगरपालिका र ऋषिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै पदमा कांग्रेस उम्मेदवारले जितेका छन् । शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकाको प्रमुखमा पनि कांग्रेसले जित दर्ता गराएको छ । म्याग्दे र बन्दीपुर गाउँपालिकाको उपप्रमुख कांग्रेसको पोल्टामा परेको छ ।

    गत निर्वाचनमा कांग्रेसले व्यास, भानु, ऋषिङ, म्याग्दे र आँबुखैरेनीमा प्रमुख उपप्रमुख दुवै जितेको थियो । शुक्लागण्डकीको प्रमुख र देवघाटको उपप्रमुख पनि कांग्रेसले जितेको हो । यसपाली आँबुखैरेनीको प्रमुख उपप्रमुख र म्याग्देको प्रमुख कांग्रेसले गुमाएको छ । देवघाटको प्रमुखमा भने कांग्रेसले जित दर्ता गराएको छ । वडातर्फ नेपाली कांग्रेसले ४६ वडाध्यक्ष जितेको छ । कांग्रेसबाट खुला वडा सदस्यमा उम्मेद्वारी दिएका १००, दलित महिला सदस्य र खुला महिला सदस्यमा ४७÷४७ जनाले जित हासिल गरेका छन् ।

    हतारोमा टिकट वितरण भएकाले यसपाली नतिजा केही खस्केको नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँ सचिव लक्ष्मीभक्त खनाल बताउँछन् । ‘हतारोमा टिकट वितरणले आकंक्षीलाई मिलाउने समय पनि भएन । गठबन्धन हुने नहुने टुंगो अन्तिमसम्म भएन् । गठबन्धन हुने भनेर उम्मेद्वार चयन गर्यौ । गठबन्धनका लागि भनेर छानिएका उम्मेद्वार उठ्न पाएनन् त्यसले पनि नतिजामा प्रभाव पारेको छ’, उनले भने । कांग्रेसको नेतृत्वले तल्लो स्तरका जनतलाई दिनुपर्ने वास्तविक सेवा सुधार गर्नपर्ने देखिएको उनको भनाई छ । कांग्रेसका नेताहरु बजारमुखी भएकाले पनि अघिल्लो निर्वाचनमा जस्तो लोकप्रिय मत नपाएको खनाल स्विकार्छन् । कांग्रेसको पकड भनिएको स्थानीय तह र वडामा बडो सकसपुर्ण जित हासिल गरेका छन् कांग्रेस उम्मेद्वारले । व्यास नगरपालिका र ऋषिङ गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख त जित्यो तर बडो सकसपुर्ण ढंगले ।

    यसपाली पनि दोस्रो बनेको नेकपा एमालेले भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै जितेको छ । म्याग्दे र बन्दीपुर गाउँपालिकाको प्रमुख मात्र जितेको थियो । यी दुई पालिकामा अघिल्लो पटक पराजित भएको थियो । तर अघिल्लो पटक जितेको देवघाटको प्रमुख र शुक्लागण्डकीको उपप्रमुख गुमाएको छ । २८ वडाको वडाध्यक्ष एमालेका उम्मेद्वार विजयी भए । खुला वडा सदस्यमा ५७, दलित महिला र खुला महिला सदस्यमा ३२÷३२ जनाले जितेका छन् ।

    नेकपा माओवादी केन्द्रले अघिल्लो पटक जितेको बन्दीपुर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै गुमाएको छ । तर समग्र जिल्लाको नतिजामा भने माओवादीले केही सुधार गरेको पाइन्छ । आँबुखैरेनी गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै माओवादी केन्द्रले जितेको छ । यसपाली शुक्लागण्डकी र देवघाट गाउँपालिकाको उपप्रमुख पनि माओवादीको पोल्टामा परेको छ । वडातर्फ पनि माओवादीले सुधार गरेको छ । पहिले पाँच वडाध्यक्ष मात्र जितेको माओवादीले यसपाली सात वडाध्यक्ष, १२ खुला वडा सदस्य, छ दलित महिला सदस्य र पाँच खुला महिला सदस्य जितेको छ ।

    जिल्लाका ८५ मध्ये चार वडामा स्वतन्त्र उम्मेद्वारले वडाध्यक्ष जितेका छन् । कांग्रेसबाट विद्रोह गरेर उम्मेद्वारी दिएका भानु र ऋषिङमा दुई÷दुई स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका हुन् । राप्रपाले र स्वतन्त्र उम्मेद्वार एक÷एक वडा सदस्य जितेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को गृह जिल्लामा नेकपा एकिकृत समाजवादीका एक जना उम्मेद्वारले पनि विजय हासिल गरेनन् ।

    यसपालिको निर्वाचनमा जिल्लाका ६४.४० प्रतिशत मतदाताले मतादान गरेका छन् । जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता मतदान गर्न योग्य थिए । प्रारम्भिक विवरण अनुसार जिल्लामा एक लाख ५७ हजार ३५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । उनका अनुसार मतदान गर्न योग्य भएर पनि ८६ हजार ९८५ मतदाताले मतदान नै गरेनन् ।

    अघिल्लो पटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा ४ प्रतिशत कम मत खसेको हो । त्यतिबेला एक लाख ९४ हजार ४७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार ९४४ मतदाता मात्रै सहभागी भएका थिए । ४४५ जनप्रतिनिधि चयन गर्न जिल्लामा एक हजार ६३६ जना चुनावी मैदानमा उत्रिएर प्रतिष्पर्धा गरेका थिए ।